Monday, May 4

स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौं : ट्रम्प

नेपालअखबार,वासिङ्टन डीसी । सोमबार एक ट्याङ्करमाथि अज्ञात प्रोजेक्टाइल प्रहार भएको खबर सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सक्रिय हुने बताएका छन् ।

‘हामीले ती देशहरूलाई भनेका छौँ कि हामी उनीहरूको जहाजलाई सुरक्षित रूपमा यी प्रतिबन्धित जलमार्गबाट बाहिर निकाल्नेछौँ, ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो काम गर्न सकुन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रथ सोसलमा लेखेका छन् । उनले योजना सोमबारदेखि सुरु हुने बताए पनि विस्तृत विवरण दिएका छैनन् ।

Advertisement

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हालको द्वन्द्वका कारण सयौँ जहाज र करिब २० हजार नाविकहरू उक्त क्षेत्रमा अलपत्र परेका छन् । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले १५ हजार सैनिक, १०० भन्दा बढी हवाई तथा समुद्री साधन, युद्धपोत र ड्रोनमार्फत सहयोग गर्ने जनाएको छ ।

यसको उद्देश्य व्यावसायिक जहाजहरूको आवागमन स्वतन्त्रता पुनर्स्थापित गर्नु रहेको बताइएको छ । ट्रम्पको भनाइ सार्वजनिक भएको केही समयपछि बेलायती समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ) ले एउटा ट्याङ्करमाथि अज्ञात प्रहार भएको पुष्टि गरेको छ । उक्त घटना संयुक्त अरब इमिरेट्सको फुजैराह सहरबाट करिब ७८ नटिकल माइल उत्तरमा भएको हो, जहाँ सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।

पछिल्ला दुई महिनादेखि इरानले स्ट्रेट अफ होर्मुजमा आफ्ना जहाज बाहेक अन्य जहाजहरूको आवागमन लगभग रोक्दै आएको छ, जसका कारण विश्वमा ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको छ । केही जहाजहरूलाई लक्षित गरी गोली प्रहार गरिएको र केहीलाई कब्जामा समेत लिइएको रिपोर्ट छ ।

यसैबिच, अमेरिकाले पनि इरानका बन्दरगाहबाट आउने जहाजहरूमाथि नाकाबन्दी लागू गरेको छ । अमेरिका अन्य देशहरूसँग मिलेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासमा रहेको छ ।

ट्रम्पले अमेरिकी अपरेसनमा कुनै हस्तक्षेप भए कडा रूपमा प्रतिकार गरिने चेतावनी दिएका छन् । अर्कोतर्फ, इरानले शान्ति वार्ताका लागि अमेरिकाको प्रतिक्रिया प्राप्त भएको जनाएको छ, यद्यपि वार्ताको अवस्था स्पष्ट छैन ।