Wednesday, July 29

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन् : शंकर पोखरेल

नेपालअखबार,काठाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्।

Advertisement

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्।

Advertisement
Advertisement

‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ। जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो,’ उनले भनेका छन्।

Advertisement

नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्वन्धका आधारमा निर्धारण हुने उनको भनाइ छ।

‘अहिलेको हार केवल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो। त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरूले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु हो,’ उनको भनाइ छ।

संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो भएको उनको बुझाइ छ। एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्ने र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्ने उनले बताएका छन्।