Sunday, May 10

सांसदहरूलाई गुटबन्दी नगर्न भन्दै रविले भने– पार्टी फुट्ने कुनै सम्भावना छैन

नेपालअखबार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् ।

आइतबार पार्टी सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

उनले ‘रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने’ गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए ।

‘म त यताको हो नि, म त उताको हो नि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौं न त भनेर होइन यो देशमा इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिंडेका साथीहरू हौं’ सभापति लामिछानेले भने, ‘हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिंडेका छैनौं । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जाइस नै छैन । सम्भावना नै छैन ।’

७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी उनको थियो । प्रधानमन्त्री शाह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको स्पष्टोक्ति थियो ।

उनले आफूहरूलाई फुटेको हेर्ने चाहना राख्ने सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रुपमा परिपक्व भएको बताए ।

‘७० वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेहरू बीच झगडा परेको कारणले हामी ७० वर्ष पछाडि परेका छौं । त्यसकारण यो सम्भव छैन’ उनले भने, ‘कहिलेकाहीं मिडियाका साथीहरूले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन् । बडो मुख मिठ्याउनुहुन्छ । आई एम सरी, बास्ना त आउला तर खाना सर्भिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याचुअर ।’

उनले फरक प्रसंगमा बोल्दै सुकुमवासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारे ।