Tuesday, July 7

संसदीय समितिमा मिडियालाई निषेध गर्न खोजिएकामा वर्षमानको आपत्ति

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट  पार्टीका सांसद वर्षमान पुनले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्।

Advertisement

बुधबार संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए। लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो। ‘लेखा समितिसहित संसदका अरू समितिमा मिडिया राखेर छलफल हुनुपर्छ,’ पुनले भने, ‘संसदीय समितिहरू सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’

Advertisement
Advertisement

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शीता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरूभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए। ‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ ।’

Advertisement

फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि स्पष्ट गरे। पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए । ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ,’ पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ। पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन।’