
नेपालअखबार,सप्तरी । सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए ।
उनीहरूले प्रयोग गरेको गाडीबाट करिब १४१ किलो गाँजा फेला परेको हो । प्रहरी चौकी विसनपुरबाट प्रहरी साहयक निरीक्षक हरेन्द्र यादवसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको १४ वटा पोका गाँजा फेला पारेको हो ।
गाँजा फेला परेपछि चालक महाप्रसाद लिम्बु र गाडीमा सवार बल बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सप्तरी प्रहरीका अनुसार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

