
नेपालअखबार, काठमाडौँ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आ.व. २०८३–८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेस हुनेछ ।
दिउँसो २ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरूको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान ९ बजेबाट सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल भइरहेको छ । त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ ।
दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुमबासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीबारे छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाको रहेको छ भने साढे २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौट सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आ.व..२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा, लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा र अन्य उपसमिति गठनका विषयमा छलफल हुनेछ ।

