Monday, June 1

मधेस प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा बहस

नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा विस्तृत छलफल सुरु हुँदैछ।

प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफल प्रारम्भ गरिने कार्यसूची रहेको छ।

Advertisement

यसअघि मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यही जेठ १५ गते नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेशसभाको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विशेष गरी कृषिलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अघि सारेको छ।

कुल २७ पृष्ठ लामो उक्त नीति तथा कार्यक्रमको दस्ताबेजमा कृषि उत्पादनमा वृद्धि, माटोको स्वास्थ्यमा सुधार, स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापक रोजगारी सिर्जना तथा शिक्षा क्षेत्रको चौतर्फी सुधार जस्ता महत्त्वपूर्ण विषयहरूलाई जोडतोडका साथ समेटिएको छ। सरकारले प्रदेशको विकास र समृद्धिका लागि विभिन्न आकर्षक नाराहरूसहित आफ्ना योजनाहरू सार्वजनिक गरेको छ। जसमा कृषि क्षेत्रको विकासका लागि ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘किसानको शान, मधेसको मखान, कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ जस्ता कार्यक्रमहरू ल्याइएका छन्।

यसैगरी रोजगारी सिर्जना र शिक्षाको स्तर उकास्नका लागि सरकारले ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ तथा बालबालिकालाई विद्यालय पठाउने अभियान अन्तर्गत ‘अप्पण बच्चाके स्कूल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता लोकप्रिय नाराहरूलाई नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ।

प्रदेशसभामा आजदेखि सुरु हुने नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि प्राप्त सुझाव र आवश्यकताका आधारमा संशोधनसहित यसलाई पारित गर्ने प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ। यो नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट सार्वजनिक गर्ने आन्तरिक तयारी तीव्र पारेको छ।