Monday, June 1

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल

नेपालअखबार,हेटौँडा । नेकपा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद ढकालले देशको नेतृत्वकर्ता र अभिभावकको रूपमा रहेको व्यक्तिबाट यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु स्तब्धकारी र आपत्तिजनक रहेको उनले बताए ।

Advertisement

प्रधानमन्त्री शाहले राजीनामा गराएर उनी माथि राष्ट्रघातको मुद्दा चलाउन सांसद ढकालले माग गरे । प्रमुख सचेतक ढकालले प्रधानमन्त्रीले सङ्घीय संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि गम्भीर प्रहार गरेको बताए ।

प्रमुख सचेतक ढकालले सीमाविद्हरूका तथ्याङ्क उल्लेख गर्दै नेपालको भारतसँग सिमाना जोडिएका २६ जिल्लामध्ये २३ वटामा भारतले सीमा मिचेको दाबी गरे । उनका अनुसार ७१ स्थानमा सीमा मिचिएको छ भने ६० हजार ६६२ हेक्टर नेपाली जमिन अतिक्रमित रहेको उनले बताए ।

जसमा सबैभन्दा बढी दार्चुला जिल्ला प्रभावित भएको उनको भनाइ छ । सांसद ढकालले सङ्घीय संसद्को रेकर्डबाट प्रधानमन्त्रीको सो अभिव्यक्ति हटाउन माग गर्दै बागमती प्रदेशसभाले पनि यसको विरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्नेमा बताए ।

‘प्रधानमन्त्रीज्यूले कि त यो प्रमाण सार्वभौम सङ्घीय संसद् र नेपाली जनतालाई दिनुपर्छ । नत्र क्षमायाचना गरेर पुग्दैन । उहाँले पदबाट राजीनामा दिनुपर्छ । राष्ट्रिय अखण्डता विरुद्ध बोल्ने अधिकार कसैलाई छैन । उहाँमाथि देशद्रोही र राष्ट्रघातको मुद्दा चलाउनुपर्छ’ उनले भने, ‘हामीले भारतको सीमा कहाँ मिच्यौँ ? २३ वटा जिल्लामा त भारतले नै सिमाना मिचेको छ । सन् १९६२ को चीन–भारत युद्धदेखि नै कालापानीमा भारतीय सुरक्षाकर्मी (एसएसबी) को उपस्थिति रहेको र लिम्पियाधुरादेखि कालापानीसम्मको भूमि उनीहरूले अधिनस्थ राखेको छ ।’