Friday, June 5

सरकारले विद्युत्‌काे महशुल घटाउनुपर्नेमा झन् भ्याट थप्यो : घिसिङ

नेपालअखबार,काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महशुल घटाउनुपर्ने समयमा उल्टो भ्याट थपेर महँगी बढाउन लागेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै घिसिङले यस्तो आरोप लगाएका हुन् । आफू विगतमा नेपाल विद्युत् प्राधिकरणमा रहँदा प्राधिकरण घाटामै रहेका बेला पनि विद्युत्को महशुल घटाएको पनि अध्यक्ष घिसिङले स्मरण गरे । उनले तीन पटक गरी २५ प्रतिशत विद्युत्को महशुल घटाएको उनले बताए । त्यसको कुल रकम २५ अर्ब हुन आउने पनि बताए ।

Advertisement

‘२५ अर्बको विद्युत् महशुल घटाएर पनि प्राधिकरण नाफामा आयो । घाटामा रहेको प्राधिकरणको विद्युतको महशुल घटाउँदा पनि नाफामा आयो,’ उनले भने ।

नेपालमा अहिले धेरै जलविद्युत् आयोजना निर्माण भइरहेकाले अब विद्युत् सस्तो हुँदैजाने पनि उनले बताए । तर, यस्तो बेला सरकारले विद्युत् महशुल सस्तो गर्नुपर्नेमा उल्टो बाटो हिँडेको बताए ।

‘हामीले त उल्टो विद्युत्मा पनि भ्याट लगाउने भयौं । भारतमा पनि विद्युत्मा भ्याट छैन । तर, सरकारले यहाँ पाँच प्रतिशत भ्याट लगायो,’ उनले भने,‘अब यो पाँच प्रतिशत भ्याटले औद्योगिक उत्पादनमा पनि असर गर्छ । उत्पादनको मूल्य बढेर महँगी हुनजान्छ ।’

त्यसैगरी सरकारले सेयर राइडिङ, शिक्षा, स्वास्थ्यमा पनि कर थोपरेर गरिबलाई मार पारेको घिसिङको टिप्पणी छ ।

‘बजेट उच्च मध्यम वर्ग र माथिल्लो वर्गको मात्रै फाइदा गर्ने किसिमले आएको छ । निम्न मध्यम वर्ग र निम्न वर्गलाई यो बजेटले कुनै सम्बोधन गरेको छैन,’ उनले भने ।

अहिलेको दुई तिहाइ बहुमतको बजेटसँग देश र जनताको ठूलो अपेक्षा रहेकामा त्यस्तो केही नआएको उनले बताए ।