Wednesday, June 10

बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला

नेपालअखबार,काठमाडौँ । अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिएको छ।

इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा ‘फिफ्थ फ्लिट’ मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

Advertisement

फिफ्थ फ्लिट मध्यपूर्वमा अमेरिकी नौसेनाको कमान्ड सेन्टर हो। यहाँ करिब ९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।

गएराति इरानले फिफ्थ फ्लिट, जोर्डनको सैन्य अड्डा लगायत विभिन्न ठाउँका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर २१ पटक ड्रोन हमला गरिएको दाबी गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले भने इरानको उक्त दाबी झुठो भएको बताएको छ।

फिफ्थ फ्लिटमा भने सम्भावित ड्रोन हमलाका कारण साइरन बजेको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले अमेरिकाले फेरि हमला गरे त्यसको जबाफ अझै शक्तिशाली हुने चेतावनी दिएको छ।

उसले अहिले गरेको आक्रमणबाट क्षति भयो कि भएन भन्ने चाहिँ खुलेको छैन।

मंगलबार साँझ अमेरिकाले हर्मुज आसपास इरानी टापुमा गरेको हमलामा भने केही क्षति भएको बताइएको छ।

अमेरिकी सेनाले केश्म टापु, बन्दर अब्बास, हर्मुज जलमार्ग प्रवेशद्वार नजिकको जास्क क्षेत्र  र सिरिक बन्दरगाहमा  इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई निशाना बनाएको थियो। मंगलबार कम्तिमा तीन चरणमा हवाई हमला गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

बुधबार बिहान सेन्टकमले यसलाई आत्मसुरक्षाका लागि गरिएको हमला भनेको छ भने तत्कालका लागि समाप्त भएको घोषणा गरेको अल जजिराले जनाएको छ।

मंगलबार बिहान अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खसेको थियो।

अमेरिकी ड्रोनबोटले हेलिकप्टरका दुई चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरेको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार इरानीड्रोनले हेलिकप्टरमा प्रहार गरेपछि होर्मुज नजिक ओमानको तटक्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

हेलिकप्टरमा रहेका दुवै चालक सुरक्षित उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको अमेरिकी सेनाले जनाएको छ।

त्यसको जबाफमा अमेरिकाले इरानमाथि हमला गरेपछि दुई देशबीच फेरि हानाहान भएको हो।

तनाव जारी रहँदा दुई-देशबीच युद्धविराम संवेदनशील बन्दै गएको छ भने हर्मुजमा कच्चा तेल र प्राकृतिक ग्यास बोकेका जहाजहरूको निर्वाध आवतजावत प्रभावित भएको छ।