Friday, July 3

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतले अदालतमा दर्ताका लागि आउने रिट निवेदनहरूको कानुनी प्रक्रिया र कारबाहीलाई थप छिटो, छरितो र व्यवस्थित बनाउन नयाँ समय सीमा तोकेको छ।

Advertisement

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले एक सूचना जारी गर्दै रिट निवेदन दर्ता तथा त्यसको निकासका लागि समय निर्धारण गरेको हो।

Advertisement
Advertisement

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार सेवाग्राहीहरूले आवश्यक कागजातहरू सहित सर्वोच्च अदालतमा दर्ताका लागि पेस गरेका रिट निवेदनहरू अब २४ घण्टाभित्र टुङ्ग्याइने छ। महाशाखाका अनुसार रिट निवेदन पेस भएको समयबाट सामान्यतया २४ घण्टाभित्र दर्ता सम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था मिलाइएको छ।

Advertisement

यसका साथै, दर्ता हुन नसक्ने प्रकृतिका रिट निवेदनहरूको हकमा पनि अदालतले निश्चित समय सीमा तोकेको छ। यदि सेवाग्राहीले पेस गरेको रिट निवेदन दर्ता गर्न नमिल्ने वा कानुनी रूपमा दर्ता हुन नसक्ने प्रकृतिको देखिएमा, त्यस्ता निवेदनहरू पेस भएको समयले ४८ घण्टाभित्र आवश्यक निकास दिइने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ। यसले गर्दा दर्ता नहुने निवेदनहरू लामो समयसम्म अल्झिएर बस्ने समस्याको अन्त्य हुनेछ।