
नेपालअखबार, जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबिच शिष्टाचार भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो।
मन्त्रालयका अनुसार यो भेटवार्ता मुख्य गरी नेपाल र भारतबिचको श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण तथा सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा केन्द्रित रह्यो । दुई देशबिच लामो समयदेखि चलिआएको श्रम सम्बन्धलाई अझ बढी सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यो संवाद भएको हो।
भेटका क्रममा नेपालले आफ्नो श्रम आप्रवासन सुशासन प्रणालीलाई थप प्रभावकारी र परिष्कृत बनाउने चाहना व्यक्त गरेको थियो। यसका लागि नेपालले पारदर्शी प्रणालीको प्रवर्द्धन गर्न र श्रमिकहरूको कल्याण तथा पूर्ण संरक्षण सुनिश्चित गर्न भारतले सञ्चालनमा ल्याएका प्रविधिहरू प्रयोग गर्ने रुचि देखाएको छ।
नेपालले भारतका स्थापित डिजिटल प्रणालीहरू ‘ई–माइग्रेट’ र ‘ई–श्रम’ प्लेटफर्महरूबाट सिक्ने र ती असल अभ्यासहरूलाई आफ्नो देशमा पनि उपयोग गर्ने विषयमा चासो राखेको हो।
छलफलका क्रममा दुवै पक्षले आ–आफ्ना देशका श्रमिक र समुदायहरूको पारस्परिक हितका लागि सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। दुई देशका मन्त्रीहरूबिच श्रम क्षेत्रमा रहेका असल अभ्यासहरू र अनुभवहरू एकापसमा आदानप्रदान गर्ने विषयमा समेत अर्थपूर्ण र सकारात्मक छलफल भएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

