Saturday, June 27

युद्धविराम उल्लंघनको आरोप लगाउँदै अमेरिकाले गर्‍यो इरानमा हमला

नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानमा हवाई आक्रमण गरेको छ।

दुई देशबीच अन्तिम सम्झौतामा हस्ताक्षरका लागि वार्ता भइरहँदा शुक्रबार अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको हो।

Advertisement

अमेरेकी सेनाको सेन्ट्रल कमान्डले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै हमला गरिएको बताएको छ।

सेन्टकमका अनुसार हर्मुज जलमार्गमा एक मालवाहक जहाजमाथि इरानी ड्रोन आक्रमण गरेको थियो।  घटनाको जवाफस्वरूप अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थल तथा तटीय रडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।

सेन्टकमले आफ्ना लडाकु विमानहरूले सैन्य लक्ष्यमा सफल आक्रमण गरेको र अभियान सम्पन्न भएको जनाएको छ।

‘इरानी सेनाले व्यावसायिक जहाजमाथि गरेको अनुचित आक्रमणले युद्धविरामको स्पष्ट उल्लंघन गरेको थियो। हिजो हर्मुज जलडमरूमध्य हुँदै गइरहेको मालवाहक जहाजमाथिको आक्रमणको यो शक्तिशाली जवाफ हो,’ सेन्टकमले भनेको छ।

सेन्टकमले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिकी सेना निरन्तर सक्रिय रहने पनि जनाएको छ।

इरानले भने दक्षिणी बन्दरगाह सिरिक नजिक अमेरिकी आक्रमण भएको पुष्टि गर्दै त्यसको जवाफमा क्षेत्रस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिक बन्दरगाह क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि त्यहाँ क्षेप्यास्त्र प्रहार भएको पुष्टि भएको हो।

इरानी सैन्य स्रोतले हर्मुज जलमार्गको नियम उल्लंघन गर्ने केही जहाजतर्फ पहिले चेतावनीस्वरूप गोली र दुईवटा चेतावनी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य बल तैनाथ रहेका क्षेत्रहरूमा नौसैनिक बलले प्रहार गरेको छ।

‘यदी अमेरिकाले पुनः आक्रमण दोहोर्‍यायो भने हाम्रो प्रतिक्रिया अझ व्यापक हुनेछ,’ भनेको छ।

आईआरजीसीले युद्धविराम सम्झौताअनुसार हर्मुज जलमार्गमा जहाज आवागमनको नियन्त्रण इरानलाई दिइएको दाबी गर्दै अमेरिकाले विभिन्न मोर्चा उक्साएर उक्त प्रतिबद्धता उल्लंघन गर्न खोजेको आरोप पनि लगाएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानले युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।

‘इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो। हामीले त्यसको पूर्ण पालना गरेका छौं। यदि सम्झौता कार्यान्वयनबारे उनीहरूको असहमति छ भने वार्ताको बाटो खुला छ। तर हिंसाको जवाफ हिंसाले नै दिइनेछ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि वार्ता र युद्धविरामप्रति प्रतिबद्धता नदेखाएको आरोप लगाएका छन्।

‘युद्धविरामको यो लापरवाह उल्लंघनले अन्ततः अमेरिकालाई फेरि पछि हट्न र पछुताउन बाध्य बनाउनेछ,’ उनले एक्समा लेखेका छन्।