Friday, July 24

सांसद खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि…

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका छन्। संसद्को आकस्मिक समयमा बोल्दै खनालले ‘कर्मचारी महोदय’ भनेपछि केही बेर सदनमा खासखुस चलेको थियो।

Advertisement

सभामुख र सांसद खनाल दुवै रास्वपाका हुन्। सम्बोधनमा शब्द चिप्लिए पनि खनालले आफ्नो मन्तव्यलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएका थिए। सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण गराउँदा चिप्लिएका हुन् ।

Advertisement
Advertisement

‘साँढेको जुधाइमा बाच्छाको मिचाई भनेझैँ लम्कीचुवा अस्पताल नगरपालिका र प्रदेशको आन्तरिक जुँगाको लडाइँले बन्धक बनेको छ,’ खनालले भने । लम्कीचुवा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय भए पनि स्थानीय सरकार र प्रदेश सरकारको विवादका कारण काम अघि नबढेको उनले बताए ।

Advertisement

आफ्नो मन्तव्यको अन्त्यतिर कर्मचारीहरूको पीडा सुनाउँदै गर्दा खनालले अचानक कर्मचारी महोदय भन्दै सभामुखलाई सम्बोधन गरेका थिए ।  उनले भने, ‘काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन, प्रादेशिक अस्पताल बन्नुपर्छ भनिएको छ तर बन्दैन। अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ।’

संसद्‌मा नियमावली अनुसार सभामुखलाई ‘सम्माननीय सभामुख महोदय’ भन्नुपर्ने व्यवस्था छ।