Thursday, July 23

अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबिच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ। पश्चिम एसियामा बढेको तनावले दुई देशबिच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो।

Advertisement

यो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ७२.५७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रतिब्यारेल ८८ सेन्ट अर्थात् १.३ प्रतिशतले बढेर ७०.११ डलर पुगेको छ।

Advertisement
Advertisement

आईएनजीका विश्लेषकहरूका अनुसार तेल बजारमा अझै पनि धेरै जोखिमहरू कायमै छन्। गत फेब्रुअरीको अन्त्यमा इरानमाथि सुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सो क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो, जसका कारण ब्रेन्ट क्रुडको मूल्यमा १०.६ प्रतिशतको गिरावट आएको थियो।

Advertisement

तर, गत बिहीबारदेखि होर्मुज जलमार्गमा कतारसँग जोडिएको तेल ट्याङ्करसहित अन्य जहाजहरूमाथि पुनः आक्रमण भएपछि ढुवानी प्रक्रिया फेरि सुस्त भएको छ। यो घटना अन्तरिम शान्ति सम्झौतापछिको सबैभन्दा खराब सैन्य टकरावका रूपमा देखिएको छ, जसले अमेरिका र इरान दुवैलाई आ–आफ्नो तर्फबाट आक्रमण गर्न उक्सायो।

तेलको मूल्यमा भइरहेको वृद्धिलाई रोक्न आइतबार अमेरिका र इरान खाडी क्षेत्रमा जारी शत्रुता अन्त्य गर्न र होर्मुज जलमार्गको विवादबारे पुनः वार्ता अघि बढाउन सहमत भएका छन्। एएनजेटका विश्लेषकहरूका अनुसार बजारले अब फारसको खाडीबाट तेल आपूर्तिमा चाँडै सुधार हुने अनुमानको पुनर्मूल्यांकन गरिरहेको छ। ट्याङ्करहरूको चाप, क्षतिग्रस्त पूर्वाधार र उत्पादन बन्द भएका कारण भौतिक रूपमा तेलको प्रवाह अझै संकुचित छ। आपूर्ति व्यवस्था युद्धपूर्वको अवस्थामा फर्कन यो वर्षभरि लाग्न सक्ने अनुमान गरिएको छ।

यसैबिच, साउदी अरबको तेल कम्पनी अरामकोले चार महिनापछि शुक्रबारदेखि होर्मुज जलमार्गको पश्चिममा रहेको रास तनुरा टर्मिनलबाट कच्चा तेलको लोड सुरु गरेको छ। आइतबार सोही टर्मिनलमा कम्पनीको एउटा हेलिकप्टर दुर्घटना हुँदा १४ जना नागरिकको मृत्यु भए पनि तेल लोडिङ कार्य भने निरन्तर चलिरहेको छ। उक्त हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।