Sunday, July 5

बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी

नेपालअखबार,काठमाडौं ।  इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक यात्रा सुरू भएको छ।

Advertisement

शनिबार राजधानी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहबाट साताव्यापी शोक यात्रा सुरू भएको हो।

Advertisement
Advertisement

खामेनीलाई श्रद्धाञ्जली दिन तेहरानमा हजारौं मानिसहरू सहभागी थिए। श्रद्धाञ्जली कार्यक्रममै सहभागी हुन तेहरानमा एकै दिन २२ लाखभन्दा बढी मानिसहरुले रेल यात्रा गरेको इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीले जनाएको छ।

Advertisement

शोकयात्राको पहिलो दिन विदेशी पाहुनाहरू समेत खामेनीलाई श्रद्धाञ्जली दिन तेहरान पुगेका थिए।

इराकका राष्ट्रपति निजार अमिदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, टर्कीका उपराष्ट्रपति जेभदेत यिलमाजलगायत विभिन्न देशका उच्च अधिकारी शोक समारोहमा सहभागी भएका थिए।

इरानको विदेश मन्त्रालयले दबाब र धम्कीका बाबजुद समारोहमा सहभागी भएका विदेशी पाहुनाप्रति आभार व्यक्त गर्दै उनीहरूले इतिहासको सही पक्षमा उभिएको भनेको छ।

साताव्यापी शोक यात्रामा करिब डेढ करोड मानिसहरू सहभागी हुने इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीको शोक यात्रा हुने एक साताको अवधिभरि कुनै पनि आक्रमण नगर्ने बताएका छन्।

यतिका मानिसहरू सहभागी भएको शोक यात्रामा एक प्रमुख व्यक्ति भने कतै देखिएनन्। इरानी नागरिक र विश्वले उनको उपस्थितिको अपेक्षा राखेको थियो। सर्वाधिक चासोका केन्द्रमा थिए नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी।

आफ्नै बुवाको अन्त्येष्टिमा कम्तिमा उनी सार्वजनिक हुन्छन् भन्ने अनुमान थियो।

मोज्तबा नयाँ सर्वोच्च नेता बनेको चार महिना भन्दा बढी भयो। उनी न अहिलेसम्म प्रत्यक्ष रूपमा सार्वजनिक भएका छन् न त भिडिओ सन्देश नै जारी गरेका छन्।

शनिबार बुवाकै श्रद्धाञ्जली कार्यक्रममा उपस्थित नहुँदा उनीबारे थप चासो बढेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इसराइलले संयुक्त हमला गरी त्यतिबेलाका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको १० दिनपछि मोज्तबा नयाँ सर्वोच्च नेता चयन भएका थिए।

सुरूवातमा फेब्रुअरी २८ को आक्रमणमा उनी पनि घाइते भएकाले भूमिगत सुरक्षामा उपचार चलिरहेको विषय मोज्तबा सर्वोच्च नेता चयन भएको एक महिनापछि सार्वजनिक भएको थियो।

उनको अनुहार र खुट्टामा गम्भीर चोट लागेको र अनुहारमा विकृति आएको भनिएको छ।

स्वास्थ्य अवस्था गम्भीर भए पनि उनी मानसिक रूपमा सक्षम रहेको र अडियो कन्फरेन्समार्फत वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी भइरहेका छन् भनेर पनि त्यतिबेला इरानी अधिकारीहरूले बताएका थिए।

युद्ध र अमेरिकासँगको वार्ताजस्ता महत्वपूर्ण निर्णय प्रक्रियामा पनि अप्रत्यक्ष रूपमा संलग्न रहेको पनि अधिकारीहरूको भनाइ थियो।

विश्लेषकहरूले भने त्यतिबेलै खामेनीलाई आफ्ना पिताजस्तै सत्तामा पूर्ण नियन्त्रण स्थापित गर्न समय लाग्न सक्ने भनेका थिए।

पछिल्लो समय उनका लिखित सम्बोधनहरू इरानी सञ्चारमाध्यमबाट प्रसारण हुँदै आइरहेको छ। इरान तल पर्ने गरी अमेरिकासँग परमाणु कार्यक्रमबारे सम्झौता नगर्नू भनेर वार्ताकारहरूलाई निर्देशन दिएको विषय पनि सार्वजनिक भएको थियो।

अहिले इरानी सरकारले अन्त्येष्टिसँग सम्बन्धित कार्यक्रमहरू सार्वजनिक गरे पनि मोज्तबाको उपस्थितिबारे कुनै जानकारी दिएको छैन।

शनिबार तेहरानस्थित इमाम खोमेनी ग्रान्ड मुसल्लाबाट साताव्यापी शोक यात्रा सुरु हुँदा पनि  उनी अनुपस्थित रहेपछि उनको स्वास्थ्य अवस्था र वास्तवमै देशको नेतृत्व कसले गरिरहेको छ भन्ने विषयमा नयाँ प्रश्न उठेका छन्।