
नेपालअखबार,डोल्पा । डोल्पामा लेदोसहितको बाढी घर पस्दा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजेतिर आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विक घर भित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्।
प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए।
बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्।
घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको डिएसपी गिरीले बताए । अन्य पाँच जना भने उपचारपछि डिस्चार्ज भएको उनले बताए ।
साथै मृतकका आफन्त पर्ने ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनापछि बेहोस भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिए ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोष्ट हुरी कोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन गरिरहेको छ।




