
नेपालअखबार,गुआम । सुपर टाइफुन ‘बाभी’ टापुमा ठोक्किएसँगै गुआम र उत्तरी मारियाना टापुहरूमा शक्तिशाली हावाहुरी र भारी वर्षा सुरु भएको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार बाभीको पश्चिमी केन्द्र भाग (आई) प्रशान्त महासागरीय टापुहरूमाथिबाट अघि बढिरहेको छ। यस आँधीमा हावाको गति प्रतिघण्टा २९० किलोमिटर र झोक्काको गति प्रतिघण्टा ३५० किलोमिटरसम्म रहेको छ।
मौसम सेवाले यो ‘अत्यन्तै खतरनाक’ आँधीका कारण ११ मिटरसम्म अग्ला छालहरू आउन सक्ने र यसले ‘विनाशकारी’ क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ। पश्चिमी प्रशान्त महासागरीय क्षेत्र उष्णकटिबंधीय चक्रवातका लागि बढी संवेदनशील मानिन्छ।
अमेरिकी टापुहरूका लागि यति धेरै शक्तिशाली आँधी आउनु असामान्य भए पनि जलवायु परिवर्तनका कारण यस्ता शक्तिशाली टाइफुनहरू आउने क्रम बढेको वैज्ञानिकहरूले बताएका छन्। यस क्षेत्रका बासिन्दाहरू सुपर टाइफुनको आगमन अगावै आपत्कालीन आश्रयस्थलमा सर्नुका साथै अन्तिम तयारीमा जुटेका छन्।

उत्तरी मारियाना टापुको सबैभन्दा दक्षिणमा अवस्थित मानव बस्ती भएको र गुआमबाट करिब ५० किलोमिटर उत्तर-पूर्वमा पर्ने रोटा टापुमा यस आँधीले सीधा असर पारेको छ। मेयरको कार्यालयले बासिन्दाहरूलाई ‘विनाशकारी हावाहुरी’ को सामना गर्न तयार रहन आग्रह गर्दै बाहिर निस्कन असुरक्षित हुने चेतावनी जारी गरेको छ। सोमबार दिउँसोसम्म हावाको गति टाइफुनको स्तरभन्दा तल झर्ने सम्भावना नरहेको र मध्यरातपछि मात्रै यसको प्रभाव कम हुने मौसम पूर्वानुमानमा उल्लेख छ।
करिब १ लाख ७० हजार जनसङ्ख्या भएको र सामान्यतया घमाइलो पर्यटकीय गन्तव्यका रूपमा चिनिने गुआमले आफ्ना विद्यालयहरूमा पाँचवटा उद्धार केन्द्रहरू खोलेको छ। यी केन्द्रहरूको अधिकतम क्षमता करिब १,७०० जनाको मात्र रहेको छ र यो विशेष गरी जोखिममा रहेका मानिसहरूका लागि व्यवस्था गरिएको हो।
आइतबार स्थानीय समय अनुसार दिउँसो १ बजे टापुको नागरिक रक्षा कार्यालयले एउटा आश्रयस्थल भरिइसकेकाले मानिसहरूलाई अर्को केन्द्रतर्फ पठाइएको जनाएको छ। अमेरिकी सेनाको ‘जोइन्ट टाइफुन वार्निङ सेन्टर’ ले बाभीलाई सुपर टाइफुनको श्रेणीमा राखेको हो।
प्रतिघण्टा २४० किलोमिटरभन्दा बढी गतिको हावा चल्ने आँधीलाई सुपर टाइफुन मानिन्छ। यसको विनाशकारी क्षमता क्याटागोरी ४ वा ५ को हुरिकेन सरह हुने मौसम सेवाले जनाएको छ।




