
नेपालअखबार, पोखरा । सम्झौता अवधि कुरेको भए गोरखाको लुदी खोला मोटरेबल पुल सकिन २०८४ असारसम्म लाग्थ्यो ।
२०८२ असार २२ गते २ वर्षभित्र सम्पन्न गर्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर प्रालिसँग निर्माण सम्झौता भएकोमा कम्पनीले १ वर्षमै ६० मिटर लामो मोटरेबल पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिदिएको छ ।
पूर्वाधार विकास कार्यालयले स्याउली बजार हुँदै मनकामना जाने सडक खण्डको लुदीखोलामा पुल बनाउन ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का दिएको हो ।
गोरखाकै पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ती खोलामा पनि सम्झौता अगावै पुल निर्माण सकिएको छ । २०८२ असार २२ गते नै डेढ वर्षको समय दिएर सम्झौता भएको पुल निर्माण कम्पनी अमृत कन्स्ट्रक्सन प्रालिले म्यादको ६ महिनाअघि नै निर्माण पूरा गरिदिएको हो ।
२० मिटर लामो र ८.४० मिटर चौडाइको पुल ३ करोड ४२ लाखमा निर्माण भएको हो । यो पुलले पालुङटार नगरपालिकाका वडा नम्बर ६, ९, १० र गोरखा नगरपालिका १२ का स्थानीयलाई आवातजावतमा सहज हुन्छ ।
दुई वटै पुलको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । उनले समय अगावै गुणस्तरीय पूर्वाधार निर्माण हुनु सुशासनको सकारात्मक उदाहरण भएको बताए । ‘समयमै मात्र होइन, समयभन्दा अगावै गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नै सुशासन र विकासप्रतिको हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘यो आयोजना निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिको समन्वय र कार्यक्षमताको परिणाम हो ।’
दुवै निर्माण कम्पनीलाई उद्घाटनको समयमा सम्मान पनि गरिएको छ ।




