Tuesday, July 21

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति

नेपालअखबार, काठमाडौं । भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ।

Advertisement

जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो।

Advertisement
Advertisement

कम्पनीले ‘क्युडेंगा’ (QDENGA) नामको उक्त खोपलाई बजार अनुमति दिइएको सोमबार घोषणा गरेको भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार क्युडेंगा भारतमा प्रयोगका लागि स्वीकृति पाउने पहिलो डेंगी खोप हो।

Advertisement

‘भारतको ड्रग्स कन्ट्रोलर जनरलले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि यो खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ,’ ताकेदा बायो-फार्मास्युटिकल्स इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खोप पहिले डेंगी संक्रमण भएको वा नभएको दुवै अवस्थाका मानिसलाई कुनै परीक्षण नगरिकनै दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो खोप डेंगी भाइरसका चारैवटा सेरोटाइप विरूद्ध प्रभावकारी छ।

ताकेदाका इन्टरकन्टिनेन्टल मार्केट्स प्रमुख महेन्द्र नायकले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, ‘क्युडेंगाको पछिल्लो सात वर्षको तथ्यांकले चारैवटा सेरोटाइप विरूद्ध डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट निरन्तर सुरक्षा दिएको देखाउँछ।’

सन् २०२२ मा सार्वजनिक भएयता क्युडेंगा ४३ भन्दा बढी देशमा स्वीकृत भइसकेको छ र विश्वभर ३ करोड २० लाखभन्दा बढी डोज वितरण भइसकेको छ।

डेंगी वर्षभरि देखिने जनस्वास्थ्य चुनौती हो, जसको कुनै विशिष्ट उपचार छैन। यसको गम्भीर रूप ‘डेंगी हेमोरेजिक फिभर’ ज्यानका लागि घातक हुन सक्छ।

भारतले दिएको यो स्वीकृति ताकेदाको विश्वव्यापी क्लिनिकल विकास कार्यक्रमका निष्कर्षमा आधारित छ। यसमा डेंगी प्रभावित र गैरप्रभावित क्षेत्रका २८ हजारभन्दा बढी सहभागीहरू संलग्न १९ वटा ‘फेज १, २ र ३’ क्लिनिकल ट्रायलहरू सामेल थिए।

दोस्रो डोज दिएको १२ महिनापछि गरिएको अध्ययनमा प्रयोगशालाबाट पुष्टि भएको डेंगी विरूद्ध खोपको प्रभावकारिता ८०.२ प्रतिशत पाइयो।

त्यस्तै, १८ महिनामा डेंगीका कारण अस्पताल भर्ना हुनुपर्ने स्थिति विरूद्ध यो खोपले ९०.४ प्रतिशत प्रभावकारिता देखायो। ४.५ वर्षपछि क्युडेंगाको दुई डोजले डेंगीका कारण अस्पताल भर्ना हुनबाट ८४.१ प्रतिशत सुरक्षा प्रदान गर्‍यो।

यो स्वीकृति भारतमा ४ देखि ६० वर्ष उमेर समूहका सहभागीहरूमा गरिएको ‘फेज ३’ क्लिनिकल ट्रायलको तथ्यांकबाट पनि प्रमाणित रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। यसले स्वस्थ वयस्क, किशोरकिशोरी र बालबालिकामा यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएको थियो।

खोपको मात्रा र प्रयोग विधि

क्युडेंगा डेंगी भाइरसका चारैवटा सेरोटाइप विरूद्ध सुरक्षा दिन बनाइएको एउटा ‘लाइभ-एटिन्युएटेड’ खोप हो।

यो छालामुनि ०.५ एमएलको मात्रामा दिइन्छ।

यो दुई डोजको प्रक्रिया हो, जसमा पहिलो डोज दिएको ३ महिनापछि दोस्रो डोज दिइन्छ।

यो खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डेंगी प्रभावित क्षेत्रहरूमा प्रयोगका लागि सिफारिस गरेको छ।