
नेपालअखबार, जनकपुरधाम । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए ।
यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताए । सो कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीलाई खेलकुदका लागि खुला स्थान निर्माण गरिएको प्रमुख चौधरीले बताए ।
यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी रु २४ लाखको लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । सो योजनाअन्तर्गत पोखरीमा घाट निर्माण तथा वरपरको क्षेत्र व्यवस्थित बनाइएको प्रमुखको भनाइ छ ।
उनका अनुसार धनगढीमाई मन्दिर परिसरमा रु चार लाखको लागतमा पार्क निर्माण गर्नुको साथै जिरोमाइलस्थित पार्क रु तीन लाख ६० हजारको लागतमा मर्मत गरिएको छ । वन क्षेत्रको संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन तथा बलान खोला सन्यासी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
झ्वाई खोल्सी सामुदायिक वन र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन्। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको प्रमुख चौधरीले बताउनुभयो । कार्यालयले वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।
सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ । वन पैदावार चोरी तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको उनले जानकारी दिए ।
चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि पनि नियमित अनुगमन तथा गस्ती सञ्चालन चोरी तस्करीमा कमी आएको सूचना अधिकारी चौधरीले बताए ।
वन संरक्षणसँगै सार्वजनिकस्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वनको सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वय गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।




