नेपाल अखबार, तनहुँ । देशभर जारी मनसुनी वर्षाका कारण आएको पहिरोले तनहुँमा ८० वर्षीया वृद्धालाई बेपत्ता पारेको छ ।
सोमबार दिउँसो करिब २:३० बजे तनहुँ जिल्लाको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले ८० वर्षीया तिलमाया धरालीलाई बेपत्ता पारेको हो । पहिरोले स्थानीय महिन्द्र धरालीको घर बगाउँदा उनको आमासहित छोरी त्रिप्सा धराली पुरिएका थिए । पहिरोबाट प्रहरीले त्रिप्सा धरालीको उद्धार गरे पनि तिलमाया धरालीको भने हराइरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकी त्रिप्सा धरालीलाई उपचारका लागि अस्पताल लगिएको र अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएकी तिलमाया धरालीको खोजीकार्य भइरहेको छ ।

