Friday, August 7

अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश

नेपालअखबार,वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ । दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।

Advertisement
Advertisement

ह्वाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले भने, ‘यो काम धेरै वर्षअघि नै हुनुपर्थ्यो, अहिले हामी त्यसलाई कार्यान्वयन गर्दैछौं ।’ उनले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो अघिल्लो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।

Advertisement

पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि तीमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन प्रयास गरेका व्यक्ति वा संघीय कानुनअनुसार स्वत: नागरिकता नदिइने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा त्यस्ता शिशुले स्वत: अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् ।

आदेशमा अमेरिकाको उदार आप्रवासन प्रणालीको दुरुपयोग गरी विदेशी पक्षहरूले लाभ लिन खोजेको भन्दै त्यसलाई रोक्न आवश्यक भएको उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनका नागरिकहरूले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गर्दै अमेरिकामा प्रभाव विस्तार गर्न खोजेको आरोप लगाउँदै आएको छ ।

ट्रम्पले बिहीबार सयौं हजार बालबालिका ‘बर्थ टुरिजम’ मार्फत अमेरिकामा जन्मिएको दाबी गरे पनि गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्सटिच्युटका अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारको बीचमा रहेको अनुमान छ । संस्थाले सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा ९ हजार ६०० शिशु जन्मिएको सरकारी तथ्यांक पनि उल्लेख गरेको छ ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गराउनु रहेको दाबी गरे । उनका अनुसार त्यसपछि ती बालबालिकाले अमेरिकी नागरिकका रूपमा विभिन्न सुविधा र अधिकार प्राप्त गर्छन् ।

मिलरले राष्ट्रपति ट्रम्पलाई आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत अमेरिका प्रवेशमा प्रतिबन्ध निर्धारण गर्ने अधिकार भएकाले ‘बर्थ टुरिजम’ रोक्न सक्ने तर्क गरे ।

ट्रम्पले सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसविरुद्ध परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले गत जुनमा आदेश कार्यान्वयन गर्न नमिल्ने फैसला गर्दै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने निर्णय गरेको थियो ।

बिहीबार ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘अन्यायपूर्ण र गलत’ भन्दै त्यसपछि आफूले फरक उपायबाट लक्ष्य हासिल गर्न खोजेको बताए ।

यद्यपि, अमेरिकी कानुनविद गेब्रियल चिनले ट्रम्पले जारी गरेका नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्थाले गम्भीर संवैधानिक प्रश्न उठाउने बताए ।

बीबीसीसँग कुरा गर्दै उनले राष्ट्रपतिलाई केवल बच्चा जन्माउने उद्देश्यले अमेरिका आउने व्यक्तिमाथि केही सीमा लगाउने अधिकार हुन सक्ने स्वीकार गरे । तर एकपटक अमेरिका भित्र बच्चा जन्मिइसकेपछि उसलाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नभएको तर्क उनले गरे ।

चिनका अनुसार ‘बर्थ टुरिजम’ अमेरिकामा हुने कुल जन्मदरको तुलनामा अत्यन्तै सानो हिस्सा मात्र हो र यसलाई असामान्य प्रकृतिको घटना मानिन्छ ।