
नेपालअखबार, न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो ।
यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो ।
त्यस्तैगरी न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि १ डलर ८३ सेन्टले बढेर ब्यारेलकै ८५ डलर २३ सेन्ट पुगेको छ ।
यो पनि कोमेक्समा शुक्रबार कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव १९ प्रतिशत धेरै हो । यसैबिच, ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य अगस्टमा सामान्य गिरावटमा रहने देखिएको छ । गत साता यी दुवैको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको थियो, जुन लगातार तीन साताको वृद्धिपछि तेलको भाउमा देखिएको पहिलो साप्ताहिक कमी थियो ।
आइतबार अमेरिकी सेनाले स्टेट अफ होर्मुजमा रहेको इरानको लाराक टापुमा दुई वटा रकेट प्रहार गरेको थियो । जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य आक्रमण थियो ।
यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई सैन्य अड्डामा आक्रमण गरेको इरानको रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले सोमबार समाचार छापेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमा इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका थिए ।
तर, उक्त टापुमा आक्रमण भइरहेको कुनै प्रमाण भेटिएको थिएन । उक्त पोस्टसँगै ट्रम्पले एआईबाट बनाइएको भिडियो हालेका थिए । इरान युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबिच भइरहेका वार्ता यतिबेला गतिरोधमा छन् । यसैबिच मध्यस्थकर्ताहरू स्टेट अफ होर्मुज पुनः सञ्चालन गर्ने प्रयासमा जुटेका छन् । युद्ध सुरु हुनुअघि विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।
‘हामीले दीर्घकालीन रूपमा द्वन्द्व चर्किनेभन्दा सीमित दायरामै टकराब हुने सम्भावना बढी देखिरहेका छौँ । स्टेट अफ होर्मुज पुनः सञ्चालनमा आउने समय सीमा भने द्वन्द्वमा हुने हरेक नयाँ घटनासँगै प्रभावित हुँदै आएको छ,’ डीबीएसका ऊर्जा अनुसन्धान प्रमुख सुव्रो सरकारले भने ।
‘यसअघि हामीले तेस्रो त्रैमासको अन्त्यसम्ममा अमेरिका र इरानबिच वार्ताका लागि पुनः संवादको अवस्थामा फर्किन सकिने अपेक्षा गरेका थियौँ । तर, अहिले त्यो सम्भावना कम हुँदै गएको देखिन्छ । त्यसैले स्टेट अफ होर्मुजको अवस्थाबारे थप स्पष्टता नआएसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ देखि ९५ अमेरिकी डलरको दायरामा रहने अपेक्षा गर्न सकिन्छ,’ उनले भनेका छन् ।




