Sunday, September 20

युनिफिकेसन चर्चकी प्रमुखलाई घुस काण्डमा दुई वर्ष जेल

नेपालअखबार,काठमाडौं । दक्षिण कोरियाको एक अदालतले युनिफिकेसन चर्चकी प्रमुखलाई पूर्व-प्रथम महिलासँग जोडिएको घुस काण्डमा दुई वर्षको जेल सजाय सुनाएको छ।

Advertisement

सोमबार सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ८३ वर्षीया हान हाक-जालाई राजनीतिक आर्थिक सहयोग सम्बन्धी कानुन उल्लङ्घन गरेकोमा एक वर्ष र अनुचित लाभ तथा भ्रष्टाचारका लागि छुट्टै एक वर्ष गरी कुल दुई वर्षको सजाय सुनाएको हो।

Advertisement
Advertisement

दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति युन सोक योलकी पत्नी किम क्योन हीलाई ब्रान्डेड गहना तथा बहुमूल्य सामानहरू र युन निकट मानिने एक सांसदलाई रकम हस्तान्तरण गर्न चर्चका एक अधिकारीलाई निर्देशन दिएको आरोप उनीमाथि थियो।

Advertisement

स्वास्थ्यको कारण देखाउँदै अधिकारीहरूले बुधबार सम्मका लागि उनको हिरासत स्थगित गरेकाले हानलाई तुरून्तै नियन्त्रणमा भने नलिइएको फाइनान्सियल टाइम्सले जनाएको छ।

अदालतले भनेको छ, ‘युनिफिकेसन चर्चको वित्तीय शक्ति प्रयोग गरी आफ्नो धार्मिक प्रभाव विस्तार गर्न र राजनीतिक पहुँच बढाउन यी अपराधहरू गरिएका थिए।’

‘चर्चले मागेका सुविधाहरू अन्ततः पूरा भए वा भएनन् भन्ने कुराले फरक पार्दैन, यस कार्यले सरकारका नीतिहरूप्रतिको सर्वसाधारणको विश्वास र अपेक्षामा आघात पुर्याएको छ।’

विवादस्पद युनिफिकेसन चर्चका संस्थापक मुन सन-म्युङकी हानले दक्षिण कोरियाली राजनीतिमा आफ्नो कुनै रूचि नरहेको दाबी गर्दै आएकी थिइन्।

‘म सत्ता पाउनका लागि पैसाको प्रयोग गर्दिनँ,’ अदालतमा आफ्नो अन्तिम बयान दिँदै उनले भनेकी थिइन्।

चर्चका दोस्रो वरीयताका अधिकारी युन योङ-होलाई पनि छ महिनाको जेल सजाय सुनाइएको छ।