Wednesday, September 2

भोटेकोशी बाढी− समुदायले नै जुटाउँदैछ सहयोग

नेपालअखबार, काठमाडौं ।  म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि दुई लाख ५० हजार सहयोग गरेका छन्।

Advertisement

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन्।

Advertisement
Advertisement

गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले एक/एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए।

Advertisement

चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्।

यसैगरी, बेनी नगरपालिका–९ मा रहेका विभिन्न सङ्घसंस्थाले पनि मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख सात हजार ६३५ जम्मा गरेका छन्।

गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह, गलेश्वर फुटसल समूह, टोल सुधार समिति र गलेश्वर आदर्श आवासीय माविका शिक्षक र विद्यार्थीबाट उक्त रकम जुटाएर कोषमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिए। बाढी प्रभावित क्षेत्रबाट सात मजदुर घर फर्किए

भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा जिल्लाका २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत म्याग्दीका सात जना श्रमिक मङ्गलबार घर आइपुगेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यका अनुसार मङ्गला गाउँपालिका–५ किमचौरका तीर्थ विक, मालिका गाउँपालिका–५ का जित पुन, टेकबहादुर पुन, प्रेम पुन, धवलागिरि गाउँपालिका–२ का टीकाकुमार पुर्जा, विमल पुर्जा र नवीन पुर्जा आफ्नो घर आइपुगेका हुन्।

मालिका गाउँपालिका–४ ओखरबोट छापका २५ वर्षीय भबिन्द्र रेग्मी र धवलागिरि गाउँपालिका–२ खोरियाका २३ वर्षीय प्रबिन पुर्जा अझै सम्पर्कविहीन रहेका सहायक प्रजिअ आचार्यले बताए।

बाढी आएपछि भागेर ज्यान जोगाएका मजदुरले रसुवादेखि चार दिन पैदल यात्रा गर्दै धादिङ पुगेका थिए । त्यसपछि गोरखा, पोखरा हुँदै बेनी आएको उनले बताए।