Tuesday, September 8

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

Advertisement
Advertisement

प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको थियो ।

Advertisement

पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।

मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा जाने तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले भनेको छ।

यस्तै, कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले सम्भावित जोखिमबाट जोगिन पदयात्री, पर्यटन व्यवसायी, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

हेर्नुहोस् प्रशासनको विज्ञप्ति :