Tuesday, September 15

बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान

नेपालअखबार, भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्।

Advertisement

मकै, कोदो, धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्।

Advertisement
Advertisement

विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका-५ बोखिमका किसान नवराज फुँयालले बताए। ‘मकै र कोदोजस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,’ फुँयालले भने, ‘बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ।’

Advertisement

बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन्। स्थानीय किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ। हाल स्थानीय बजारमा बेसारको पीठो प्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू उत्साहित छन्। जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो। स्थानीय किसान भीमप्रसाद न्यौपानेले बेसार जमिनमुनि फल्ने र बाँदरले मन नपराउने भएकाले सुरक्षित बाली रहेको जानकारी दिए।

कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले बेसार खेतीप्रति चासो बढेको छ। बाँदरको प्रकोपका कारण बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः आम्दानी बढाउन सकिने सम्भावना किसानले देखाएका छन्। स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसारको राम्रो उत्पादन हुने उनीहरूको भनाइ छ।