
नेपालअखबार, झापा । मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए ।
स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।
मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।
झापामा मेची नदी पार गरेर भारतीय जंगलबाट ठूलो सङ्ख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जंगलमा बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ ।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन् ।




