Friday, September 18

नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्।  शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement

नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठुला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने उनले बताए। मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आइपुगेको दाबी उनले गरे। गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण र सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले स्पष्ट पारे। राष्ट्रिय राजनीतिमा नेकपाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्र, गणतन्त्र, संविधान र सङ्घीयताको रक्षाका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि लडेका शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।

Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भने, ‘अहिले हाम्रो देश ठुलो सङ्कटमा छ। विदेशीहरूको चलखेल चलिरहेको छ। राष्ट्रियता सङ्कटमा छ। हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? यो हामीलाई चिन्ता छ।’

Advertisement

नेपालको भूराजनीतिक अवस्था र छिमेकी सम्बन्धबारे बोल्दै उनले थपे, ‘नेपालजस्तो भूपरिवेष्टित देश, दुई ठुला देशको बिचमा अवस्थित यो देश कसरी शान्तिपूर्ण ढङ्गले बाँच्ने, कसरी छिमेकीहरूसँग सुमधुर सम्बन्ध बनाउने र नेपालको स्वाभिमानको रक्षा कसरी गर्ने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्छ।’

चुनौतीहरूको सामना गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘नेपालको सम्मान कसरी अगाडि बढाउने भन्ने भावनाबाट हामी अगाडि बढ्नुपर्ने र त्यसमा कसैले समस्या खडा गर्न खोज्छन् भने, चुनौती दिन खोज्छन् भने सामना गर्ने आँट हामीले गर्नुपर्छ।’

संविधान र व्यवस्थाको रक्षाबारे उदाहरण दिँदै उनले भने, ‘हामीले ल्याएका परिवर्तनहरूको रक्षा गर्ने दायित्व हाम्रै हो। आमाको काम छोराछोरीलाई जन्माउने मात्र होइन, हुर्काउने पनि हो। उनीहरूलाई राम्रो बनाउने, योग्य र सक्षम बनाउने पनि हो। यो सबै जिम्मेवारी पूरा गर्न तपाईंहरूको सहयोग चाहिन्छ।’

सम्बोधनका क्रममा सहसंयोजक नेपालले कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत मुलुकमा कृषि क्रान्तिलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिएका छन्।