Sunday, September 27

बाढी र पहिरोले मनाङको सदरमुकाम चामे क्षेत्रमा ठुलो क्षति

नेपालअखबार, मनाङ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण बस्तीमा लेदो पसेको छ भने केही घरहरू पहिरोले बगाएको छ ।

Advertisement

स्थानीयका अनुसार, ५ वटा घर बगाएको हो । बाढी बस्तीमा पसेपछि स्थानीयवासी राति नै जङ्गल र सुरक्षित डाँडातर्फ भागेका थिए । ३ दिनदेखि चामेमा सम्पर्क टुटेको छ । सञ्चार सम्पर्क समेत विच्छेद भएकोमा केहीबेर अघि पुनः सञ्चार जोडिएको छ । बाढी पहिरोले चामे जोड्ने प्रमुख पुलहरू बगाएपछि आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ ।

Advertisement
Advertisement

ठाडो खोलामा आएको बाढीले कृषि ज्ञान केन्द्र नजिकका घरहरूमा क्षति पुर्‍याएको छ । सदरमुकाममा रहेका दुई वटै काठेपुल बाढीले बगाएको छ । ‘यहाँ मानवीय क्षति त भएको छैन । तर ४–५ वटा घर बाढीले लगिसक्यो,’ चामेकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामा भन्छिन्, ‘राति साढे ११ बजेतिर सबै जना ज्यान जोगाउन जङ्गलतिर भागेका थियौँ ।’

Advertisement

अहिले पनि नयाँ बजारका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्न समस्या भएको छ । सदरमुकामका पुल नभएर आवतजावतमा समस्या भएको हो । उनका अनुसार झोलुङ्गे पुल पनि निरन्तर माटो खसेर जोखिममा परेको छ । यसअघि कोतो र तिल्चे जोड्ने पुलहरू पनि बाढीले बगाइसकेको छ । मर्स्याङ्दी नदीको बहाव अत्यधिक बढेकाले नदी किनारका बस्तीहरू उच्च जोखिममा छन् भने तातोपानी क्षेत्रमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

जोखिममा परेका स्थानीयवासीलाई हाल जिल्लाका विभिन्न सरकारी कार्यालय, अस्पताल, नापी, जनस्वास्थ्य तथा प्रहरी ब्यारेकहरूमा राखिएको छ ।  ‘अहिले हामी विभिन्न अफिसहरूमा बसिरहेका छौँ । तर, यहाँ ओढ्ने–ओछ्याउने कपडा र खानाको निकै समस्या छ,’ लामाले भनिन्, ‘बच्चाहरू र बूढाबूढीलाई सम्हाल्न निकै गाह्रो भएको छ ।’ धेरै पर्यटक पनि अहिले चामेमै अड्किएका छन् ।

सडक सञ्जाल र पुलहरू सबै भत्किएका कारण चामे क्षेत्रमा पदयात्रामा आएका थुप्रै पर्यटकहरू समेत अलपत्र परेकाले उनीहरूलाई छिटो उद्धार गर्नुपर्ने स्थानीय व्यवसायीहरू बताउँछन् । अहिले मौसममा केही सुधार आए पनि माथिबाट लेदो र ढुङ्गा खस्ने क्रम रोकिएको छैन ।

भौगोलिक रूपमा सम्पर्क विच्छेद भएको र खाद्यान्न अभाव हुन थालेकाले अलपत्र परेका पर्यटक, बिरामी, बालबालिका र वृद्ध वृद्धाहरूलाई तत्काल हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिदिन स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।