
नेपालअखबार,काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ ।
मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताएकी छन् ।
बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले संविधान तथा प्रचलित कानुनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको बताइन्।
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
डिजिटल प्रविधिको उपयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उनीहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अगाडि बढाइने सन्देशमा उल्लेख छ।




