
नेपालअखबार,काठमाडौं । फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् ।
केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । साथै कर्मचारी, विद्यार्थी र प्रहरीहरु घाइते भएका छन् । प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारको आलोचना पनि बढेको छ । यसबाट राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकार दबाबमा परेको बताइएको छ ।
गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् । गृहमन्त्री नुनेजले प्रहरीको प्रतिक्रिया लगभग सबै घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरेपछि आक्रोश बढेको बताइएको छ ।
स्रोत साधनको माग गर्दै सुरु भएको थियो प्रदर्शन
फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’को प्रतिज्ञाका बाबजुद विपन्न विद्यालयका विद्यार्थीले पर्याप्त स्रोत र अवसर नपाएको विषयलाई लिएर प्रदर्शन सुरु भएको थियो ।
विद्यार्थीहरुले कक्षाकोठामा डेस्कबेन्च र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलन नभएका कारण गर्मीमा अत्यधिक तात्ने कक्षाकोठा, कर्मचारी अभाव लगायतका गुनासो सम्बोधनको माग गरेका छन् ।
यस्ता विभिन्न मागसहित सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको प्रदर्शन अन्य सहर तथा नगरमा पनि फैलिँदै गएको छ ।
उच्च माध्यमिक विद्यालयसम्बन्धी आन्दोलनको समर्थनमा मजदुर युनियनले पनि र्याली निकालेका छन् । मंगलबार पेरिसमा भएको प्रदर्शनमा सहभागीहरुले ‘तपाईं भन्नुहुन्छ, युवाहरू नै भविष्य हुन्, त्यसैले उनीहरूको कुरा सुन्नुहोस्,’ लेखिएका प्लेकार्ड बोकेका थिए ।




