
नेपालअखबार,काठमाडौँ। साउदी अरबमा हुथी विद्रोहीले लगातार हमला गरिरहेका छन्।
पछिल्लो एक सातामा पाँचवटा विमानस्थलमा कम्तीमा १० पटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै पटकपटक आक्रमण भएको छ।
पूर्वी सहर दमामको विमानस्थल र साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोका केन्द्र पनि निशानामा परेको हुथी समूहको दाबी छ।
आइतबार रियाद विमानस्थलको टर्मिनल ४ मा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। आक्रमणमा ११ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
त्यसको अघिल्लो दिन शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको साउदी अधिकारीहरूले जनाएका थिए। एक साताभित्र रियाद विमानस्थलमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको रोयटर्सले जनाएको छ।
आक्रमणको जिम्मेवारी यमनका इराननिकट हुथी विद्रोहीले लिएका छन्।
उनीहरूले साउदी अरबका विमानस्थल प्रयोग नगर्न यात्रु, विमान कम्पनी र विमानस्थलका कर्मचारीलाई चेतावनीसमेत दिएका छन्।
साउदी अरबले पनि हुथीविरुद्ध यमनमा हवाई आक्रमण तीव्र पारेको छ।
अक्टोबर ५ देखि ११ सम्म भएका आक्रमणको विवरणअनुसार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल पाँच पटक, दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल दुई पटक र अभा, जिजान तथा नजरानका विमानस्थलमा एक–एक पटक आक्रमण भएको अनादोलु समाचार संस्थाले जनाएको छ।
पाँच विमानस्थलमा १० आक्रमणमा २० जनाको मृत्यु र सयौं घाइते भएको पनि अनादोलुले जनाएको छ।
रियादमा लगातार आक्रमण, विमानस्थल बन्द
रियाद विमानस्थलमा भएका आक्रमणले साउदी अरबको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
रियाद विमानस्थलमा भएको एउटा आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएका थिए। अभा विमानस्थलमा भएका आक्रमणमा पनि २ जनाको मृत्यु र २८ जना घाइते भएका थिए।
आक्रमण अगाडि नै भएको भए पनि घटनाबारे अक्टोबर ७ मा मात्रै खबरहरू सार्वजनिक भएका थिए।
अक्टोबर ११ मा रियाद विमानस्थलमा फेरि आक्रमण भयो।
शनिबारको आक्रमणपछि विमानस्थल बन्द गरेर क्षतिको मूल्याङ्कन र सुरक्षा जाँच गरिएको थियो। उडान रद्द तथा अन्यत्र मोडिएका थिए। केही अन्तर्राष्ट्रिय विमान कम्पनीले साउदी अरबका गन्तव्यमा उडान स्थगित गरेका थिए।
आक्रमणको असर विमानस्थलमा मात्र सीमित रहेन। रियादका विद्यालयमा एक साताका लागि प्रत्यक्ष पठनपाठन बन्द गरेर अनलाइन कक्षा सञ्चालन गरियो।
बेलायत, अस्ट्रेलिया, फ्रान्स र अमेरिकाले आफ्ना नागरिकलाई साउदी अरबको यात्रामा सावधानी अपनाउन आग्रह गरे। युरोपेली संघको उड्डयन सुरक्षा निकायले पनि साउदी हवाई क्षेत्रमा उडान गर्दा जोखिम हुन सक्ने चेतावनी दिएको छ।
यमनको युद्ध साउदी पूर्वाधारसम्म
साउदी अरबमा भएका पछिल्ला आक्रमणलाई यमनमा चर्किएको युद्धको प्रभावका रूपमा हेरिएको छ।
साउदी समर्थित यमनी सरकारी फौजले अक्टोबरको पहिलो सातादेखि हुथी विद्रोहीले कब्जा गरेका रणनीतिक क्षेत्र फिर्ता लिन प्रत्याक्रमण थालेका छन्।
त्यसलाई साउदी नेतृत्वको गठबन्धनले हवाई आक्रमणमार्फत सहयोग गरिरहेको छ।
हुथी समूहले साउदी विमानस्थल, सैन्य संरचना र तेल पूर्वाधारलाई निशाना बनाएको छ।
अक्टोबर ११ मा हुथी सैन्य प्रवक्ता याह्या सरीले रियाद विमानस्थलसँगै दमाम विमानस्थल र साउदी अराम्कोका दुई केन्द्रमा आक्रमण गरेको दाबी गरेका थिए।
दमाम विमानस्थलमा आक्रमण भएको साउदी नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरे पनि अराम्कोका केन्द्रमा भएको भनिएको आक्रमणबारे स्वतन्त्र पुष्टि भएको थिएन।
हुथी समूहले साउदी अरबले यमनमा गरेको सैन्य कारबाहीको जवाफमा आक्रमण जारी राख्ने सङ्केत दिएको छ।
समूहले आइतबार सार्वजनिक गरेको वक्तव्यमा साउदी अरबले यमनमाथिको आक्रमण र हस्तक्षेप नरोके अझ गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी अरबको सैन्य कारबाहीमा अमेरिका पनि सहभागी हुन सक्ने बताएका छन्।
इरानसँगको व्यापक युद्धको प्रभाव यमनसम्म फैलिएका बेला साउदी अरब र हुथीबीचको द्वन्द्व थप क्षेत्रीय युद्धमा परिणत हुन सक्ने चिन्ता बढेको छ।




