
नेपालअखबार, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, खहरेमा ढुङ्गा प्रहार गरी एक व्यक्तिको हत्या गरेर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, जन्तिलुङ निवासी ४० वर्षीय नारायण लम्तरी रहेका छन् ।
प्रहरीका अनुसार गत कात्तिक ६ गते साँझ करिब ६ बजेर ७ मिनेटमा आपसी वादविवाद तथा झैझगडाका क्रममा लम्तरीले तिनाउ गाउँपालिका–६, खहरे सिसुवा निवासी ४५ वर्षीय नन्दलाल बजगाईमाथि आक्रमण गरेका थिए । उनले ढुङ्गालगायतका वस्तुले शरीरका विभिन्न भागमा पटक–पटक प्रहार गर्दा बजगाई गम्भीर घाइते भएका थिए । उपचारका लागि पाल्पा अस्पताल तानसेन पुर्याइएका बजगाईलाई चिकित्सकले सोही दिन राति ८ बजेर ३० मिनेटमा मृत घोषणा गरेका थिए ।
घटनापश्चात् फरार रहेका लम्तरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त टोलीले खोजतलासका क्रममा सोमबार साँझ करिब ६ बजेर १५ मिनेटमा रैनादेवी छहरा गाउँपालिका–४, छहराबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लम्तरीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।




