Tuesday, November 24

विश्वभर एक वर्षमा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या, हरेक घण्टा पाँच जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा पाँच महिला तथा बालिकाले आफन्त वा नजिकका व्यक्तिबाट ज्यान गुमाएका छन् ।

Advertisement

संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ ।

Advertisement
Advertisement

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो ।

Advertisement

प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार पारिएको उल्लेख छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये १९ प्रतिशत महिला थिए । हत्या गरिएका महिलामध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र निजी तथा पारिवारिक परिवेशमा मारिएका थिए ।

क्षेत्रगत रूपमा हेर्दा घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् ।

विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीच हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रतिवेदनअनुसार महिला हत्याका घटना सामाजिक मान्यता र लैङ्गिक रूढिवादी सोचमा गहिरोसँग जरा गाडेर बसेका छन् । न्याय प्रणालीसम्म पहुँचमा रहेका अवरोधले पनि यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको छ ।

नारीहत्या भन्नाले महिला तथा बालिकालाई उनीहरूको लिङ्गका आधारमा गरिने हत्यालाई बुझिन्छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याबाहेक सङ्गठित अपराध, जबर्जस्ती श्रम तथा मानव बेचबिखनसँग सम्बन्धित केही हत्या पनि यसमा समेटिन सक्छन् ।

यद्यपि, निजी क्षेत्रबाहिर हुने नारीहत्यासम्बन्धी पर्याप्त तथ्याङ्क उपलब्ध नहुँदा क्षेत्रीय तथा विश्वव्यापी रूपमा यस्ता घटनाको वास्तविक परिमाण आकलन गर्न कठिन रहेको प्रतिवेदनमा उल्लेख छ ।