Wednesday, April 22

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द

नेपाल अखबार, तनहुँ । एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार शनिबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा संक्रमण देखिएका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो ।
‘साउन १४ गते उनीसहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये क्वारेन्टिनमा बसेका आठै जनाको रिपोर्ट नेगेटिभ आयो भने उनको रिपोर्ट मात्रै पोजेटिभ आयो,’ डोटेलले भने, ‘संक्रमण पुष्टि भएका उनको सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरेका हौं ।’
संक्रमण पुष्टि भएका कर्मचारी पोखरास्थित घरकै आइसोलेसनमा रहेको उनले बताए । साउन १४ गते स्वाब दिएपछि उनी घर गएका थिए ।
संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुबाट दिइने सेवाप्रवाह मंगलबारसम्म बन्द गरेर कर्मचारीहरुको परीक्षण थालिएको उनले बताए । डोटेलले भने, ‘आइतबार २६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौं । बाँकीको भोलि गर्ने छौं । कार्यपालिकाभित्र २२ जना कर्मचारी कार्यरत छन् । कर्मचारी लगायत जनप्रतिनिधिहरुको पनि परीक्षण गरेर मात्रै कार्यालय खोल्ने तयारी हामीले गरेका हौं ।’
उनका अनुसार गाउँपालिकामा अहिलेसम्म ६ जनामा संक्रमण पुष्टि भएको मध्ये अन्य चार जना भने डिस्चार्ज भइसकेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *