नेपाल अखबार,सिन्धुपाल्चोक। पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिताको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण रहेको रिपोर्ट प्राप्त भएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय उनको यही साउन २२ गते त्रिवि शिक्षण अस्पताल (महराजगन्ज) मा उपचारका क्रममा निधन भएको थियो।
त्यसपछि शव बाह्रबिसे लगेर दाहसंस्कार गरिएको थियो। जसमा करिब १५ सय मानिस सहभागी (मलामी) भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।
तर स्वास्थ्य मन्त्रालयले हिजो (मंगलबार) मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपछि तनाव भएको छ।
‘अब ती सबै (१५ सय जना) को कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ,’ उपप्रमुख पाख्रिनले बुधबार बिहान भनिन्, ‘आज पहिलो चरणममा मृतकलाई छोएका तथा धेरै नजिकका मानिसको स्वाब संकलन गर्दै छौं।’
त्यसका लागि अहिले बिहान १० बजेतिर जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली गाँमा आउने उनले जानकारी दिइन्।
‘पहिलो चरणमा सयभन्दा बढीकै स्वाब संकलन गरिन्छ होला,’ उनले भनिन्, ‘उनीहरूको रिपोर्ट कस्तो आउँछ, त्यस आधारमा अरूको पनि क्रमशः स्वाब परीक्षण गरिनेछ।’

यसमा हाम्रो दोष छैन : पूर्वमन्त्री बस्नेत
उक्त घटनामा आफ्नो कुनै दोष नरहेको दाबी गर्दै मृतकका छोरा एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
आफ्ना पिताको मृत्युमा समेत आफूप्रति राजनीतिक कुचेष्टा राखेर कोरोनाको रिपोर्ट नआउँदै शव अस्पतालबाट जबर्जस्ती घर लगेको भन्ने भ्रामक समाचार सम्प्रेषण गराएको भन्दै उनले खण्डन गरेका छन्।
पूर्वमन्त्री बस्नेतले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छः
हाम्रा ८४ वर्षीय पुजनीय पिताको मृत्युमा समेत राजनीतिक कुचेष्टासाहित हस्पिटलबाट जबर्जस्ती पीसीआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चामाध्यमप्रति गहिरो खेद प्रकट गर्दछौं।
वास्तवमा बुबाको मृत्युु दुवै किड्नीको खराबीका कारणले यही मिति २०७७र०४र२२ गते ११:४५ मा भएको थियो। उपचारमा संलग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दाभन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउदछौं। शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो।
पहिला उपचारपछि घरमै आराम गरिरहनुभएका उहाँको स्वास्थ्यमा पुनः समस्या आएपछि मनमोहन कार्डिओ भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा भर्ना गरिएको थियो। डाक्टरहरूको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलााई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याएका हौं।
दुवै किड्नी ड्यामेज भएका कारणले मृत्यु भएको जानकारीपछि दाहासंस्कारमा धेरै शुभचिन्तकको सहभागिता रहेको थियो। तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउँदछौं। यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कत भयो?

