प्रशासनसमाचारस्वास्थ्य

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने

नेपाल अखबार, काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन १ हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिएका छन् ।
कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि काम निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २ सय ५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये १ सय ९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिएका छन् । नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरे पनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पु¥याउने नगरपालिकाले जनाएको छ । होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३ सय ५० भत्तासमेत प्रदान गरिएको छ । रासस

the authoradmin

Leave a Reply