नेपाल अखबार, काठमाडौं । सरकारले मुलुकको जेठो अस्पताल वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार बिफ्रिङमा जानकारी दिए । उनका अनुसार वीर अस्पतालको नियमित स्वास्थ्य सेवा भने अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।
नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ ।
पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए ।
सरकारले विभिन्न शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षाका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको काममा खटाउने भएको छ ।
यस्ता विद्यार्थीलाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्ब्य सेवा विभागले आवश्यकताअनुसार कोभिड १९ रोकथामका लागि स्वयंसेवकको रुपमा खटाउने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए ।

