नेपाल अखबार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा छाता संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ (एओएएन)ले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको बताएको छ ।
एओएएनले एयरक्राफ्टमा ५० प्रतिशत मात्रै यात्रु राख्ने र ५० प्रतिशत भाडादर बढाउने सरकारको निर्णय व्यवहारिक नभएको बताएको हो । एओएएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एयरक्राफ्टमा पूर्ण क्षमतामा यात्रु राखि पुरानै भाडादरमा सञ्चालन गर्न दिएमात्रै आफुहरुले उडान सूचारु गर्न सक्ने बताए ।
अध्यक्ष थापाले संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको पनि स्पस्ट पारे । उनले ५० प्रतिशत यात्रु बोक्नै पर्ने भए सरकारले सहुलियत प्रदान गर्नुपर्ने बताए ।
सरकारले कुन आधारमा यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र एयरक्राफ्ट भित्र ५० प्रतिशत यात्रु राख्न भन्यो आफूहरुले बुझ्न नसकेको थापाको भनाइ छ ।
एयरलाइन्स घाटामा गएपनि भाडादर नबढाइकन उडान गर्न आफूहरु सक्षम रहेको पनि थापाले स्पस्ट पारे । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देश भित्रै कम समयका लागि उडान गर्ने एयरक्राफ्टले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने सरकारको निर्णय भ्रामक भएको पनि उनको भनाइ छ । ६० प्रतिशत यात्रु बोकेपछि मात्रै एयरलाइन्सको लागत उठने र ७५ प्रतिशतसम्म यात्रु बोक्न पाए केही नाफा हुन सक्ने भएकाले सरकारले पूर्ण क्षमतामा एयरलाइन्स सञ्चालन गर्न दिनुपर्ने थापाले बताए ।
यस्तो निर्णयले एयरलाइन्स क्षेत्रको विकासका लागि सरकार कत्तिको संवेदनशिल छ भन्ने स्पस्ट भइसकेको पनि क्याप्टेन थापाले बताए । आफूहरु अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भएपनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने उनले स्पस्ट पारे ।
Nepal Akhabar > Blog > अर्थ > ‘५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक’