नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न ठोस प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सचिवालय बैठकले एकताको बाँकी काम पुरा गर्नकालागि सचिवालयमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘सांगठनिक एकताका बाँकी काम पूरा गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष कमरेड र महासचिव कमरेडले ठोस प्रस्तात सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर सचिवालयले टुंगो लगाउने निर्णय भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठले अन्य विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई÷तीन दिनभित्रै अर्को बैठक बसेर निर्णय लिने बताए।
उनले आजको सचिवालय बैठक स्थायी समितिको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा सौहार्दपूर्ण र सकारात्मक छलफल भएको बताए।

