समाचारसमाज

पोखराको दुर्गन्धित ठाउँमा नर्सरी बनेपछि फैलियो सुगन्ध

नेपाल अखबार, पोखरा । दश वर्ष अघिसम्म डम्पिङ साइटका कारण नाक थुनेर हिँड्नुपर्ने पोखरा पृथ्वीचोकस्थित चाइनापुलको किनारा अहिले भने नर्सरीका कारण सुगन्धित बनेको छ । विभिन्न जातका फूल र फलफूललगायतका बिरुवा उत्पादन गर्दै आएको श्री भद्रकाली नर्सरीका कारण चाइनापुल किनाराको पहिचान नै बदलिएको छ । स्याङ्जाको साविक राङभाङ गाउँ विकास समिति वडा नं ५ अर्चुङवास जन्मस्थान भएका प्रेमबहादुर राना र उहाँकी श्रीमती सीतामाया रानाले उक्त स्थानमा विसं २०६५ यता नर्सरी सञ्चालन गर्दै आउनुभएको छ ।
“नर्सरी हुनुअघि डम्पिङ साइट बनेको चाइनापुलको किनारामा हिँड्न पनि नाक थुनेर हिँड्नुपर्ने बाध्यता थियो”, प्रेमबहादुरले भन्नुभयो, “अहिले नर्सरीका कारण यहाँको सौन्दर्य नै बदलिएको छ, दुर्गन्धित ठाउँ मगमगाएको छ ।” विभिन्न फूलका साथै औषधिजन्य बोट बिरुवाको बेर्ना तयार गरी बेच्दै आएको नर्सरीले नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी ३० हजार फूलका बेर्ना तयार गरेकोमा झण्डै २५ हजारभन्दा बढी बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको नर्सरीले आफ्नो व्यवसाय सञ्चालन गरेबापत वार्षिक रु ५० हजार पोखरा महानगरपालिकालाई भाडा बुझाउँदै आएको छ । चैतको शुरुबाटै सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण व्यवसायीले हिउँदे मौसममा लगाइएको फूल खेर फाल्नुपरेको गुनासो गरे ।
सो नर्सरीमा हिउँदे मौसमका लागि तयार भएका झण्डै ३० हजार फूल फाल्नुपरेको रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीले बन्दाबन्दीका कारण झण्डै सात लाख रुपैयाँको घाटा ब्यहोर्नु परेको छ । नेपालीका चाड दशैँ, तिहार, छठ नजिकिँदै गर्दा पोखराका नर्सरी यतिखेर चाडबाडलाई लक्षित गरी फूल तयार गर्न लागिपरेका छन् । पछिल्लो समयमा देश अधिकांश उत्पादनमा परनिर्भरतातर्फ उन्मुख हुँदै गएका अवस्थामा दैनिक पूजापाठका साथै चाडपर्व र विशेष समारोहमा आवश्यक पर्ने फूलमा भने आत्मनिर्भर बन्दै गएको प्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) कास्कीका अध्यक्ष सीतामाया रानाले बताउनुभयो ।
“अघिल्लो वर्ष पनि दशैँ तिहारका लागि पोखरा आसपासको उत्पादनले नै यहाँको फूलको माग लगभग पूरा भएको थियो”, उहाँले भन्नुभयो, “पुष्प व्यवसायमा पोखरा आसपासमा व्यवसायी उत्साहित भए पनि यस वर्ष कोरोनाको महामारीले केही प्रभाव पारेको छ ।” तिहारमा मात्रै पोखरामा झण्डै रु तीन करोड बराबरको फूलको कारोवार हुने गर्दछ ।
दशैँ तिहारलाई लक्षित गरी नर्सरीमा फूल तयार गर्ने काम भइरहेको उहाँको भनाइ थियो । पोखरामा तिहारमा आवश्यक फूल वरपरको छिमेकी गाउँसहित स्याङजा, बागलुङ, गोरखा, धादिङलगायतका ठाउँबाट आयात हुन्छ । फ्लोरिकल्चर एशोसिएशन नेपालका अनुसार हाल नेपालमा ४२० प्रजातिका फूल उत्पादन भइरहेको छ । पोखरा क्षेत्रमा भने लगभग ३०० प्रजातिको फूल उत्पादन भइरहेको व्यवसायी बताउँछन् । कास्कीको कालीका, लाहाचोक, घाचोक, भरतपोखरी, सिसुवालगायतका ठाउँमा फूल खेती बढेको छ ।
काठमाडौँ उपत्यकाबाट शुरु भएको व्यावसायिक फूल खेती धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सुनसरी, झापा, कपिलवस्तुलगायत ४१ जिल्लामा विस्तार भएको छ । देशभर ७०० भन्दा बढी कृषक व्यावसायिक फूल खेतीमा लाग्दा प्रत्यक्ष र अप्रत्यक्षरूपमा १४ हजारभन्दा बढी व्यक्ति यो व्यवसायमा जोडिन पुगेको बताइन्छ । पोखरा र आसपासका व्यवसायीको फूल खेतीतर्फको उत्साहका कारण झण्डै ८० प्रतिशतभन्दा बढी फूल स्थानीय उत्पादनले थेग्ने गरेको रानाले बताउनुभयो ।रासस

the authoradmin

Leave a Reply