प्रशासनसमाचारहाइलाइट-समाचार

भुइँमै सुत्छन् कैदीबन्दी

नेपाल अखबार, तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् ।
नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् । क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ । “रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने ।
कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएका पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् । सुत्नका लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाइएको भए पनि अब जाडो महिना शुरु हुन लागेको चिसोले बिरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठ बताउँछन्। श्रेष्ठले काठ सहयोग पाए कारागारभित्रै रहेका कैदीबन्दीले खाट निर्माण गर्ने बताउँछन् । कैदीबन्दीको सङ्ख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएको हो । महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो ।
पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी छन् । पुरानो कारागार भवनलाई ब्लक ए र नयाँ भवनलाई ब्लक बी गरी नामाकरण गरिएको उनले बताए । पुरानो भवनमा १०७ र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको निमित्त प्रमुख अधिकारीले बताए । गत साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । उक्त भवन निर्माणपश्चात ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।
जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको उच्च सङ्ख्या पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखका रूपमा असार ८ गते प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल आएपछि धमाधमा फरार अभियुक्त पक्राउ पर्न थालेपछि सङ्ख्या बढ्न पुगेको छ । हालसम्म प्रहरीले फरार १७१ अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ । रासस

the authoradmin

Leave a Reply