
नेपालअखबार,झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो।
बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले– केही नयाँ खेती गर्ने।
निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती।
बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन्।
बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ का दरले बिक्री भइरहेको छ।
‘धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,’ उनले भने, ‘बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ। कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले। बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ।’
उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गरेका थिए।
बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पुर्याएका छन्।
पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ। तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उनले परीक्षणबाटै साबित गरे।
धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उनको अनुभव छ।
जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उनलाई अहिले बाली भित्र्याउने चटारो छ। बदाम लहरे बाली हो। उनले यसपटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताए।
खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताइन्। स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ।




