Saturday, February 21

प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र

नेपाल अखबार, काठमाडाैं। नेपाली सिने जगतकी अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि एक पत्र लेखेकी छिन् ।
यनले आफ्नो फेसबुक अकाउन्टमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेकी हुन् जसमा उनले नेपालमा बढ्दो बलात्कारको घटना र घटनामा संलग्न अपराधीलाई दिइने सजायलाई आफ्नो विषयवस्तु बनाएकी छिन् ।
उनले लेखेकी छिन्, ‘एउटी अभिनेत्रीबाहेक यो देशलाई माया गर्ने चेली, एउटी नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ’
उनी थप्छिन्, ‘ती अबोध बालिकाहरुको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन पनि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितीमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । ’
बलात्कारीलाई दिइने सजायमा आफ्नो असन्तुष्टि पोख्दै उनी भन्छिन्, ‘दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआमा हिँडेको वा ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटी नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ । ’
यसमा उनी थप्छिन्, ‘जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानून कार्यान्वयन निकायहरुले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नी परीक्षा दिएको युगमौ छौं झैं लाग्छ । ’
उनी प्रश्न उठाउँदै भन्छिन्, ‘यहाँ बालिकाहरु खुलेआमा राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस्, कि यो देशमा उनीहरु सुरक्षित छन् ?’
ऋचालाई आजकाल सरकारमाथि पनि प्रश्न उठ्न थालेको छ । उनी लेख्छिन्, ‘म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरो पैताला डग्मगाउँदैछन् । बाँकी तपाईंहरुको बुझकी । ’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *