अर्थप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

चार जात मिलेर गोरखामा होमस्टे सञ्चलनको तयारी

मोहसिन अलि मियाँ
गोरखा  । बिरेनचोकका स्थानीय होमस्टे सञ्चालनको तयारीमा जुटेका छन् । गोरखा नगरपालिका वडा नम्बर १० स्थित गोरखा– आँबुखैरेनी सडक आसपास क्षेत्रमा रहेका मगर समुदाय होमस्टेको तयारीमा जुटेका हुन् । १९ घरबाट सुरुवात हुन लागेको होमस्टे सञ्चालनका लागि आवस्यक पूर्वाधारको निर्माण भइरहेको स्थानीयले बताएका छन् ।
‘हामीले तत्काल १९ घरबाट होमस्टेको सुरुवात गर्दैछौ’ बिरेनचोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना रानाले भनिन् ‘सबै घरमा पाहुना बस्ने कोठा बनिसकेका छन्, अब अरु संरचनाहरु निर्माणको तयारीमा छौ ।’
यसैबिच सोमबार होमस्टे सञ्चालनका लागि सरोकारवालाहरुबिच छलफल भएको छ । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश स्थानीयले होमस्टे सञ्चालनका लागि आफुहरु तत्पर रहेपनि ब्यवस्थापनमा समस्या भएको बताएका छन् । ‘हामीले आ–आफ्नो घरमा पाहुना कोठा त बनायौ, बाथरुम बनायौ तर पानीकै समस्या छ, कसरी होमस्टे चलाउने’ स्थानीय निरा रानाले प्रतिप्रश्न गरिन् ।
होमस्टे सञ्चालन हुने गाउँमा बाटो, सामुदायिक भवनको समेत समस्या रहेको कतिपयको दुखेसो छ । ‘बिचमा हाइ–वे छ, तलमाथी गाउँमा होमस्टे चलाउने तयारी हो’ बिरेनचोक सामुदायिक वनका अध्यक्ष भुरमण घिमिरेले भने ‘अब वरीपरी भएका जंगलको समेत अवलोकन गर्न मिल्नेगरी बाटोको निर्माण गर्नु आवस्यक छ, अतिथीको सत्कार र अफिसका लागि भवनको पनि अभाव छ ।’
१६ घर मगर, १ नेवार, १ गुरुङ र १ दलित गरी १९ घरबाट सुरु गर्न लागिएको होमस्टेबाट स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्¥याउने उदेश्य लिएको छ । ‘घाँटु, भजन, पाउँदुरे, लगायतका हामीकहाँ धेरै संस्कृति लोप हुने अवस्थामा छन्’ होमस्टेकी सचिव सीता रानाले भनिन् ‘हाम्रो रहनसहन, संस्कृतिलाई बेचेर यहाँका महिलालाई आत्मनिर्भरको बाटोमा लैजाने हाम्रो उदेश्य हो ।’
गोरखा बजार, दरबार लगायत बिभिन्न हिमाल, पहाड, फाँट, दरौदी नदी लगायतको दृष्य यहाँबाट अवलोकन गर्न सकिने स्थानीयले बताए । होमस्टेमा पाहुनालाई बाह्य आयात रोकेर स्थानीय उत्पादन खुवाउने तयारी पनि उनिहरुको छ ।
‘होमस्टेमा हामीले नै उत्पादन गरेका खानेकुरा खुवाउने हो’ कमला रानाले भनिन् ‘पर्यटक आकर्षित गर्न गाउँमा भएका धार्मिक र ऐतिहासिक संरचना, पार्क, मन्दिरको संरक्षणमा पनि लाग्दैछौ ।’
छलफल कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले भ्रमण बर्ष २०२० का अवसरमा नगरपालिकाले ‘गोर्खा जाऔं’ कार्यक्रम ल्याउन लागेको बताएका छन् । होमस्टेले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास ब्यक्त गर्दै उनले एक पटक आएका पाहुनाले फर्केपछि थप १० जना पठाउने वातावरण बनाउने गरी सञ्चालन गर्न स्थानीयलाई सुझाव दिए ।
‘होमस्टे सुरु गर्नु नयाँ कुरा होइन, त्यसलाई प्रभावकारी रुपमा निरन्तरता दिनु महत्वपूर्ण हो’ पन्तले भने ‘होमस्टेमा नयाँपन होइन टिपिकल बनाउनुुस्, आयातित खानेकुरा निषेध गर्नुस्, आफ्नो संस्कृति देखाउनुस् पर्यटक त्यै हेर्न र खान आउने हुन् ।’
होमस्टे सञ्चालनका लागि नगरपालिकाले साथ दिने प्रतिवद्धता जनाउदै नगरप्रमुख पन्तले तत्कालका लागि ब्यवस्थापनलाई सघाउन ५ लाख उपलब्ध गराउने घोषणा समेत गरे । होमस्टे सामाजिक काम समेत रहेको बताउदै उनले संस्कार, रीति र इतिहासलाई बेच्न सके घरमै बसेर आम्दानी गर्न सकिने बताए ।
कार्यक्रममा वडाध्यक्ष देवीबहादुर बस्नेत, कार्यपालिका सदस्य सावित्रा थापा पुलामी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले होमस्टे सञ्चालनका लागि सुझाव दिएका थिए ।

the authoradmin

Leave a Reply