Wednesday, July 15

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालअखबार,  मोरङ। नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ।

पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।

Advertisement

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। परिवार पनि थपिएको छ।

Advertisement
Advertisement

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो।

Advertisement

‘यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत ६ बाट सात पुगेको छ’, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने।

उनी हाल फेडेरेसन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै छन्।

यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उनले बताए।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ। नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ। त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो। यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो। त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो।

जैविक विविधता अनुसन्धानका क्रममा सुरूमा मोरङको मिक्लाजुङ क्षेत्रको जंगलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिए।

नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौं भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उनले बताए।

‘सुरूमा अलि लामो पुच्छर भएको छेपारो देख्यौं, त्यो बेला समाउन सकेनौं, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौं, अर्काे दिनचाहिँ फेरि फेला पार्‍यौं र नापजाँच गर्‍यौं’, गौतमले आफ्नो अनुभव सुनाउँदै भने,‘अध्येता सन्तोष सर (सन्तोष भट्टराई) लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कलचाहिँ काटिसकेका थियौं, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौं।’

यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ। यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो। नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ।

चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताए।

उनका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो।

नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण संघ (आइयुसिएन) को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ।

नेपालमा तीव्र दरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनाशले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ।

चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुंगा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन्।

उहाँहरूले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिएका छन्।  रासस