
नेपालअखबार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । बैंकले ट्रेजरी बिलमार्फत यहीँ साउन ३१ गते १३ अर्ब रुपैयाँ उठाउने भएको हो । बैंकका अनुसार २८ दिने ट्रेजरी मार्फत ५ अर्ब रुपैयाँ, ९१ दिने ट्रेजरी मार्फत २ अर्ब रुपैयाँ र १८२ दिने ट्रेजरी मार्फत ६ अर्ब रुपैयाँ ऋण उठाउन लागिएको हो ।
साउन ३१ गते जारी हुने ट्रेजरी बिलको बोलकबोल साउन ३० गते दिउँसो ३ बजे हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरु ब्याजदरसहित ट्रेजरीको खरिद प्रस्ताव गर्न सक्नेछन् । यसअघि तीनपटक ट्रेजरी बिल बिक्री गरिसकेको बैंकले पहिलो पटक अधिकतम १२ प्रतिशत ब्याजदरमा ट्रेजरीको बिक्री गरेको थियो भने दोस्रो र तेस्रो पटक आफैले राखेको थियो ।
बैंकहरुले मनलाग्दी ब्याजदर अफर गरेपछि ब्याजदर बढ्न नदिन बैंकले आफैले ट्रेजरी राखेको बताएको थियो । तर, यसपटक राष्ट्र बैंकले के गर्छ त्यो भने निश्चित छैन । नेपाल सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गर्दै अल्पकालिन आन्तरिक ऋण उठाउने गर्छ । यस्तो ऋण बढीमा एक वर्षसम्म हुने गर्छ ।

