
नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर परेका छन् । हस्ताक्षर कार्यक्रममा श्रमसचिव अर्यालले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउन श्रम सम्झौता गरिएकाे बताए ।
यो नेपालका लागि राम्रो अवसर भएको उनले बताए । श्रम सम्झौताअनुसार चाँडै परीक्षा गराएर नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने उनले जानकारी दिए ।
यस्तै, नेपालका लागि बेलायती राजदूत पोलिटले बेलायतको श्रम ऐन र सोहीअनुसार सुविधा नेपाली नर्सले पाउने हस्ताक्षर कार्यक्रममा बताइन् ।
नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको छ । दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि आज हस्ताक्षर भएको हो ।
दुई साताअघि नेपालस्थित बेलायती दूतावासले श्रम मन्त्रालयलाई पत्राचार गर्दै भदौ ६ मा सम्झौताको मिति तय भएको विषयमा श्रम मन्त्रालयमा जानकारी गराएको थियो ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई स्वास्थ्य क्षेत्रमा श्रमिक लिन मापदण्ड तय भएको थियो ।
श्रम सम्झौतामा संख्या उल्लेख नगरे पनि पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ । रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् ।
कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउँछन् । बेलायत जाने नर्सले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ (वार्षिक करिब ५५ लाख) नेपाली रुपैयाँभन्दा बढी कमाउन सक्नेछन् ।

